अभिषेकको ह्याट्रिकसँगै भारतमा नेपाली युवा टोलीको गोल बर्षा

काठमाडौं (खेलदैनिक) । भारतको गुवाहाटीमा जारी एनईसी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा नेपाली युवा टोली एन्फा यु–२१ ले गोल बर्षा गर्दै शानदार जित हात पारेको छ ।

बिहीबार भएको खेलमा नेपाली टोलीले त्रिपुरा राज्यलाई ८–० को फराकिलो अन्तरले हरायो । नेपालको जितमा अभिषेक रिजालले ह्याट्रिक सहित चार गोल गरे । रिजालले खेलको ५२, ६६, ६९ र ७८ औं मिनटमा गोल गर्दै ह्याट्रिक पनि पूरा गरे ।

त्यस्तै नेपाली टोलीका लागि प्रिजेन तामाङले खेलको चौथो र ६७ औं मिनटमा गरी दुई गोल गरे भने ३२ र ७७ औं मिनटमा क्रमश रेजिन सुब्बा र धिरज श्रेष्ठले एक–एक गोल गरे । खेलमा ह्याट्रिक गरेका अभिषेक रिजाल म्यान अफ द म्याच समेत घोषित भए ।

जारी प्रतियोगितामा नेपाली टोलीको यो पहिलो जित समेत हो । यसअघि बुधबार मात्र भएको पहिलो खेलमा नेपाली युवा टोलीले मेघालयसँग ३–२ को हार बेहोरेको थियो । एन्फा यु–२१ टोलीले आफ्नो तेस्रो खेल शनिबार मणिपुरसँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...