तिलोत्तमा गोल्डकप : शानदार जितका साथ दाफिन्स सेमिफाइनलमा

बुटवल (खेलदैनिक) । दावेदार मध्ये एक मानिएको पाहुना टोली दाफिन्स एफसी, क्यामरुन जारी २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो क्वाटरफाइनलमा दाफिन्सले दश खेलाडीमा सिमित हुनुका बावजुद झापा–११ लाई ५–० को फराकिलो अन्तरले हरायो ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा दाफिन्सका लागि २६ औं मिनटमा यानिकले पहिलो गोल गरे । गोलरक्षक दिप क्षेत्रीले गम्भिर गल्ती गर्न पुग्दा झापाले पहिलो गोल खान पुगेको थियो । पहिलो हाफसम्म १–० को अग्रता बनाएको दाफिन्सले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।

खेलको ५० औं मिनटमा पिटेंगाले दाफिन्सका लागि दोस्रो गोल गरे । यद्यपि खेलको ५८ औं मिनटमा औरेल इनामीले दोहारो पहेंलो कार्ड खाँदै मैदान छाडेपछि अफ्रिकी टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो । तर पनि एकतर्फी जित निकालेको दाफिन्सका लागि ७३ औं मिनटमा नाईसले तेस्रो गोल गरे ।

लगतै ७५ औं मिनटमा डिडेर टिनाले दाफिन्सका लागि चौथो गोल गरे भने ८८ औं मिनटमा म्यान अफ द म्याच समेत घोषित बीक बीकले पाँचौं गोल गर्दै टोलीको शानदार जित पक्का गरे ।

प्रतियोगिता अन्तरगत बिहीबारको अन्तिम क्वाटरफाइनल खेल लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र च्यासल युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...