महिला राष्ट्रिय टिमलाई उर्लाबारीमा पनि भब्य स्वागत

उर्लाबारी (खेलदैनिक) । भारतमा सम्पन्न हिरो गोल्डकप महिला फुटबल प्रतियोगितामा उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई मोरङको उर्लाबारीमा भब्य स्वागत गरिएको छ ।

टोलीलाई सोमबार साँझ उर्लाबारीमा एक कार्यक्रमका बीच उर्लाबारीमा भब्य स्वागत गरिएको हो । मोरङ जिल्ला फुटबल संघ, उर्लाबारी नगरपालिका, उर्लाबारी उद्योग बाणिज्य संघ, उर्लाबारी फुटबल क्लब, सञ्चार क्लब नेपाललगायत एक दर्जन संघसंस्थाहरुले राष्ट्रिय खेलाडीहरुको स्वागत गरेका हुन् । मोरङ फुटबल संघ अध्यक्ष दिपेन्द्र धिमालले महिला फुटबल टिमले ऐतिहासिक उपल्बधी हात पारेको उल्लेख गरे ।

उनले महिला फुटबल खेलाडीहरुले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाएको र आगामी दिनमा अझै ठूलो उपल्बधी प्राप्त हुनेमा आशाबादी रहेको बताए । महिला टिमका प्रशिक्षक हरि खड्काले खेलाडीहरुको मेहेनतका कारण नेपालले भारतलगायत देशलाई जित्न सफल भएको भन्दै खुशी प्रकट गरे ।

भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको थियो । नेपाल र म्यानमा चार महिनायता तेस्रो पल्ट भिडेका हुन् ।

गत नोभेम्बरमा म्यानमाको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एसियाली छनोटको पहिलो चरणमा नेपालले म्यानमाविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । नेपाल हिरो गोल्डकप प्रतियोगिताको समूह चरणको खेलमा म्यान्मासँग ३–० गोलअन्तरले पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...