हिरो गोल्डकप : इरानमाथि नेपालको शानदार जित

काठमाडौं (खेलदैनिक) । आफू भन्दा ४६ औं वरियताले माथि रहेको इरानलाई हराउँदै नेपाल जारी हिरो गोल्डकप महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ ।

बुधबार भुवनेश्वर स्थित कालिंगा स्टेडियममा भएको महत्वपूर्ण खेलमा फिफा वरियताको १०६ औं स्थानमा रहेको नेपालले ६० औं वरियताको इरानलाई ३–० ले हरायो ।

नेपालको जितमा पहिलो गोल खेलको ४१ औं मिनटमा अनिता बस्नेतले गरीन् । त्यस्तै थप दुई गोल भने खेलको ५९ र ८९ औं मिनटमा साबित्रा भण्डारीले गरीन् । जारी प्रतियोगितामा साबित्राको गोलसंख्या चार पुगेको छ । यसअघि उनले भारत विरुद्ध पनि निर्णायक दुई गोल गरेकी थिईन् ।

आफ्नो पहिलो खेलमा म्यानमारसँग हारेको नेपालले त्यसपछिको लगातार दुई खेल जित्दै प्रतियोगिताको फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । यद्यपि त्यसका लागि नेपालले बुधबार नै हुने अर्को खेलमा म्यानमार र आयोजक भारतबीचको नतिजा पनि पर्खनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...