बुढासुब्बा गोल्डकप : दाफिन्ससँग एपिएफ फेरि स्तब्ध

धरान (खेलदैनिक) । दाफिन्स एफसी, क्यामरुन जारी २१ औं रेडबुल अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको अन्तिम क्वाटरफाइनलमा दाफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–० ले हरायो । स्मरणीय छ, दाफिन्ससँग एपिएफको यो लगातार दोस्रो हार हो । यसअघि उसले भर्खरै सम्पन्न मनकामना केबलकार पोखरा कपको फाइनलमा पनि दाफिन्ससँग १–० को हार बेहोरेको थियो ।

धरान रंगशालामा भएको खेलमा अफ्रिकी टोली दाफिन्सका लागि दुवै गोल खेलको आठौं र ४९ औं मिनटमा यानिकले गरे । पोखरामा पनि यानिक नै एपिएफको यात्रामा तगारो बनेका थिए ।

प्रतियोगिता अन्तरगत बिहीबारको पहिलो सेमिफाइनल खेल सिएमजी संकटा क्लब र आयोजक धरान फुटबल क्लबबचि हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...