बुढासुब्बा गोल्डकप : उद्घाटन खेल फेरि रोकियो, सोमबार सिधै पेनाल्टी हुने

सुनसरी (खेलदैनिक) । धरानमा आइतबारदेखि शुरु २१ औं रेडबुल अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल खराब प्रकाशका कारण फेरि रोकिएको छ । यसअघि प्रतिकुल मौसमका कारण शनिबार हुने भनिएको उद्घाटन खेल आइतबारका लागि सारिएको थियो ।

धरान रंगशालामा आइतबार भएको उद्घाटन खेलतर्फ सिएमजी संकटा क्लब र मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीचको प्रतिस्पर्धात्मक खेल निर्धारित समयतर्फ २–२ को बराबरीमा सकिएको थियो । त्यसपछि सडेन डेथमा पनि कुनै नतिजा ननिस्किएपछि म्याच रेफ्रीले आयोजक र दुवै टोलीसँग सल्लाह गरेर सोमबार सिधै पेनाल्टी शुटआउटमा नतिजा निकाल्ने सहमति भएको थियो ।

https://twitter.com/Goal_Nepal/status/1094574543186919426

गोलनेपालका अनुसार यसअघि उद्घाटन कार्यक्रममा उपस्थित अतिथीहरुले लामो मन्तव्य राखेपछि खेल शुरु गर्न ढिलाई भएको थियो । रंगशालामा आवश्यक कृत्रिम प्रकाशको व्यवस्था पनि नभएकाले खेल सुचारु गर्न थप समस्या भईदिएको थियो ।

त्यसैगरी प्रतियोगिता अन्तरगत सोमबारको खेल नेपाल पुलिस क्लब र सहारा क्लबबीच हुने आयोजकले जनाएको छ । धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ८ लाख प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...