ताप्लेजुङलाई महिला गोल्डकपको उपाधि

झापा (खेलदैनिक) । सुखानी सहिद स्मृति महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कर्णसिंह सोनाम स्मृति स्पोर्टिङ क्लब ताप्लेजुङले जितेको छ ।

सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको प्रदेश नम्बर १ स्तरीय प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा पारिजात महिला फुटबल क्लब झापालाई १–२ गोल अन्तरले हराउँदै ताप्लेजुङले उपाधिमाथि कब्जा जमाएको हो ।

अर्जुनधारा–९ स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको खेलमैदानमा भएको फाइनल खेलमा विजेता टिमका लागि खेलको ६१औं र ६६औं मिनेटमा सुष्मा खातीले गोल गरेकी थिइन् । उपविजेता टिमका लागि खेलको ६४औं मिनेटमा संरचना श्रेष्ठले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

बिजेता बनेको ताप्लेजुङले उपाधिसहित नगद एक लाख हात पार्यो भने उपविजेता झापाले ५१ हजारमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको वूमन अफ दी टुर्नामेन्ट झापाकी संरचना श्रेष्ठ घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक ताप्लेजुङकी यमुना गुरुङ घोषित भईन् भने उत्कृष्ट डिफेन्स झापाकी खुस्मा राई घोषित भईन् । त्यसैगरी उत्कृष्ट मिडफिल्डर झापा कै सम्झना लावती घोषित हुँदा उत्कृष्ट फरवार्डको उपाधि भने ताप्लेजुङकी सुष्मा खातीले हात पारीन् । ज्ञ

विजेता र उपविजेता टिमका खेलाडीलाई प्रमुख अतिथि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रतिनिधि सभाका सांसद् पवित्रा निरौला खरेल, प्रदेश सांसद्हरु अर्जुन राई, जसमाया गजमेर, बलबहादुर साम्सुहाङ र होमकुमारी साँवा, बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाईं, अर्जुनधारा–१०का वडाध्यक्ष बलदेवसिंह गोम्देनलगायतले पुरस्कृत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...