
काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले आफूहरु फुटबलबारे थप जान्नका लागि भुवनेश्वर (भारत) आईपुगेको बताएका छन् ।
शनिबारदेखि भुवनेश्वरमा शुरु हुन गईरहेको चारदेशीय हिरो गोल्डकपमा नेपालले आयोजक भारत, म्यानमार र इरान विरद्ध खेल्दैछ । प्रतियोगितामा सहभागी चार देश मध्ये नेपाल फिफा वरियतामा सबैभन्दा तल्लो स्थानमा रहेको छ ।
प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक खड्काले भने “हामी यहाँ फुटबलबारे थप सिक्न आएका छौं । हामीले यस प्रतियोगितालाई घरेलु मैदान मै हुन गईरहेको महिला साफ च्याम्पियनसिपको तयारीका रुपमा लिएका छौं । हामीले यस प्रतियोगिताबाट आफ्नो कमजोरी र राम्रो पक्षहरुलाई केलाउँदे सुन्दर फुटबल खेल्नेछौं ।”
प्रतियोगितातर्फ नेपालले आफ्नो पहिलो खेल शनिबार बलियो म्यानमार विरुद्ध खेल्दैछ । नेपालको खेल नेपाली समयअनुसार बेलुका ४:१५ मा शुरु हुँदैछ ।