बी डिभिजन लिग आजदेखि, एन्फा कम्प्लेक्समा दुई खेल हुँदै

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक बी डिभिजन लिग आजदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुँदेछ । लिगको उद्घाटन खेलमा झम्सीखेल युथ क्लबले ब्वाईज युनियन क्लबको सामना गर्दैछ । त्यस्तै शुक्रबार नै हुने दोस्रो खेलमा टुसाल युथ क्लबले श्री भगवती क्लबको सामना गर्दैछ ।

लिगमा सहभागी कुल १२ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ र सहभागी टोलीहरुले राउण्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक समूहको शिर्ष दुई टोली फाइनल चरणका लागि छनौट हुनेछन् । लिगमा बढुवा र घटुवा प्रणाली नरहेकोले सहभागी टोलीहरुमा खासै रौनकता भने छैन ।

यद्यपि लिगको पुछारमा रहने दुई टोलीलाई कारवाही स्वरुप आगामी बर्ष १–१ कटौती गरिनेछ भने तयारी वापतको ५० हजार रकम पनि खोसिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

लिगको विजेताले उपाधिसहित नगद ८ लाख प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख हात पार्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ३ लाख प्राप्त गर्नेछ भने चौथो स्थानको टोलीले दुई लाख हात पार्नेछ । त्यसैगरी लिगको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५–२५ हजार प्राप्त गर्नेछन् ।

लिगभा सहभागी प्रत्येक टोलीहरुलाई तयारी स्वरुप सात लाख रुपैया समेत उपलब्ध गराइएको एन्फाले जनाएको छ । लिगका सबै खेलहरु अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यालयस्थित एन्फा कम्प्लेक्समा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...