
काठमाडौं (खेलदैनिक) । विश्व फुटबलको नियमनकारी निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपाल १६१ औं स्थानमा यथावत रहेको छ । ताजा वरियताका लागि नेपालले कुल १००१ अंक प्राप्त गर्यो । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा छ ।
त्यस्तै दक्षिण एसियातर्फ शिर्ष स्थानमा भने भारत यथावत छ । फिफा वरियतामा ६ स्थान तल झरेको भारत १०३ स्थानमा छ । त्यस्तै दोस्रो स्थानमा रहेको अफगानिस्तान १४७ औं वरियताका साथ यथावत स्थानमा छ । तेस्रो स्थानमा रहेको माल्दिभ्स पनि १५१ औं वरियतामा यथावत छ ।
१८६ औं वरियतामा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १९२ औं वरियतामा रहेको बंगलादेश छैठौं स्थानमा छ । त्यसैगरी १९९ औं स्थानमा रहेको पाकिस्तान दक्षिण एसियातर्फ सातौं स्थानमा रहँदा २०१ वरियताका साथ श्रीलंका आठौं स्थानमा छ ।
बेल्जियम अगाडी
त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा युरोपियन जायन्ट बेल्जियम छ । विश्व विजेता फ्रान्स दोस्रो स्थानमा छ भने पाँचपल्टको विश्व च्याम्पियन ब्राजील तेस्रो स्थानमा छ ।