महिला गोल्डकप : संरचनाको दोस्रो ह्याट्रिकसँगै पारिजात फाइनलमा

अर्जुनधारा, झापा (खेलदैनिक) । शानदार जितका साथ पारिजात महिला फुटबल क्लब, झापा जारी एक नम्बर प्रदेशस्तरीय सुखानी सहिद स्मृति महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पारिजातले माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीलाई ४–० गोलले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । विजयी टिमका लागि खेलको चौथो, १२औं र ६१औं मिनेटमा गोल गर्दै संरचना श्रेष्ठले ह्याट्रिक पूरा गरिन् । यो उनको दोस्रो ह्याट्रिक हो । उनले उद्घाटन खेलमा पनि धनकुटाविरुद्ध ह्याट्रिक गरेकी थिइन् । थप गोल खेलको ४८औं मिनेटमा सुनसरीकी सुस्मिता राईले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् ।

खेलको वूमन अफ दी म्याच विजेता टिमकी संरचना श्रेष्ठ घोषित भइन् । उनलाई झापा जिल्ला प्रहरी प्रमुख एसपी भीम ढकालले नगद दुई हजारबाट पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत बुधबारको दोस्रो सेमिफाइनल खेल कनकाई नगर खेलकुद समिति झापा र कर्णसिंह सोनाम स्मृति स्पोर्टिङ क्लब ताप्लेजुङबीच हुनेछ । आयोजक प्रतिष्ठानका व्यवस्थापक पूष्पलाल तिवारीका अनुसार विजेताले नगद १ लाख १ हजार पाउनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...