नेपालको मिसन महिला साफ च्याम्पियनसिप : प्रशिक्षक हरि खड्का

धुलाबारी, झापा । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भारतको उडिसामा हुने चार देशीय फुटबल प्रतियोगितामा नेपालको मिसन भारत नभएको बताएका छन् ।

राष्ट्रिय टोलीलाई झापाको धुलाबारीमा एक कार्यक्रम आयोजना गरी झापा जिल्ला फुटबल संघले विदाई तथा शुभकामना दिने क्रममा प्रशिक्षक खड्काले नेपाली टोलीको मिसन आउँदो साफ च्याम्पियनसीप भएको बताए ।

नेपाली महिला टोलीले म्यानमारमा भएको एसियन ओलम्पिक क्वालिफायरमा क्षमता प्रदर्शन गरिसकेको बताउँदै प्रशिक्षक खड्काले टोलीमा भएका अन्य गल्ती सुधारेर साफ च्याम्पियनसीपमा भारतलाई पराजित गर्ने एकमात्र लक्ष्य रहेको सुनाए । गत बुधबारदेखि झापाको चन्द्रगढीमा बन्द प्रशिक्षणमा रहेको टोली मंगलबार पूर्वी नाका हुँदै उडिसा प्रस्थान गरेको हो ।

फेब्रुअरी ९ देखि १५ तारीखसम्म हुन गईरहेको चारदेशीय महिला फुटबल च्याम्पियनसिप प्रतियोगिताअन्तरगत नेपालले आफ्नो पहिलो खेल ९ फेब्रुअरीका दिन म्यानमारसँग खेल्नेछ भने दोस्रो खेल ११ फेब्रुअरीका दिन आयोजक भारतसँग खेल्नेछ । त्यस्तै लिगचरणको अन्तिम खेलमा नेपालले १३ फेब्रुअरीका दिन इरानसँग खेल्ने कार्यक्रम रहेको छ । स्मरणीय छ, अन्तिम समयमा आएर श्रीलंकाले प्रतियोगितामा सहभागिता नजनाउने भएपछि श्रीलंकाको स्थानमा इरानलाई समावेश गरिएको हो ।

प्रतियोगितामा सहभागी देशहरुमध्ये नेपाल सबैभन्दा तल्लो वरियताको टोली समेत हो । फिफा वरियतामा म्यानमार ४४ औं स्थानमा छ भने इरान ६० औं स्थानमा छ । त्यस्तै भारत ६२ औं स्थानमा छ भने नेपाल १०८ औं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...