२१ औं तिलोत्तमा गोल्डकप फागुन पहिलो साता, पुरस्कार राशीमा पनि बृद्धि

बुटवल (खेलदैनिक) । प्रदेश नम्बर ५ कै पुरानो मध्ये एक र प्रतिष्ठित २१ औं तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको यहि आउँदो फागुन २ गतेदेखि शुरु हुने भएको छ ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक रुपन्देही जिल्ला फुटबल संघले प्रतियोगिताको आयोजनाबारे जानकारी गराएको हो ।

प्रतियोगिताबारे जानकारी गराउँदै रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार) ले प्रतियोगितामा कुल १० टोलीहरुको सहभागिता रहने बताए ।

त्यस्तै प्रतियोगिताको पुरस्कार राशीमा पनि यसपटक बृद्धि गरिएको अध्यक्ष केसीले बताए । यसअघि २० औं संस्करणको विजेताले उपाधिसहित नगद ७,७७७,७७ रुपैयाँ हात पारेका थिए भने उपविजेताले ४,४४,४४४ रुपैया प्राप्त गरेका थिए ।

यद्यपि त्यो पुरस्कार राशीमा यसपटक बृद्धि गरि प्रतियोगिताको २१ औं संस्करणको विजेताले उपाधिसहित नगद ८ लाख ८० हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिता कै एक सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाईकल वा स्कुटर प्रदान गरिने समेत अध्यक्ष केसीले बताए ।

बुटवल, देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही २५–२५ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

रुस्लान थ्रीस्टार क्लब प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । थ्रीस्टारले २० औं संस्करणको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...