रुपन्देही : विश्वास र त्रिदेवको ह्याट्रिकसँगै विश्वशान्ति फाइनलमा

फर्साटिकर (खेलदैनिक) । फराकिलो जितका साथ विश्व शान्ति युवा क्लब, सालझण्डी जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा विश्व शान्तिले देशभक्त युवा क्लब, नवलपरासीलाई शून्यका विरुद्ध ८ गोलको भारी अन्तरले हरायो । विश्व शाीन्तको जितमा विश्वास श्रेष्ठ र त्रिदेव गुरुङले ह्याट्रिक गरे । त्यस्तै थप दुई गोल भने अफ्रिकी खेलाडी मेसी र अल्बर्टले गरे ।

खेलमा सुदिप शाहीले सोझै रातो कार्ड खाँदै मैदान छाडेपछि दोस्रो हाफको अन्तिमतिर विश्व शान्ति दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि विजयी टोलीको शानदार जित भने सुनिश्चत भयो । खेलमा विश्व शान्तिका लागि पहिलो ह्याट्रिक गरेका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

विश्व शान्तिले अब उपाधिका लागि शनिबार फाइनलमा सिद्धार्थ एफसी, सैनामैनाको सामना गर्ने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ । त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...