इटहरी गोल्डकप : शानदार जितका साथ आर्मी फाइनलमा

सुनसरी (खेलदैनिक) । उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लब जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

इटहरी रंगशालामा सम्पन्न खेलमा आर्मीले विपक्षीको आत्मघाती गोलबाट शुरुवाती अग्रता लिएको थियो । खेल शुरु भएको दशौं मिनटमै ओलासुलेले आत्मघाती गोल गरेपछि आर्मीले शुरुवाती अग्रता बनाएको थियो । त्यस्तै ४६ औं मिनटमा सन्तोष तामाङले दोस्रो गोल गरे भने ५९ औं मिनटमा बिबेक बस्नेतले त्यो अग्रता तेब्बर पारे ।

तेस्रो गोल खाएको एक मिनटमै काकरभिट्टाका लागि खामिर गिल्सन कान्दङ्वाले ६० औं मिनटमा एक गोल फर्काए तापनि त्यो प्रर्याप्त बनेन । उता खेलको इन्जुरी समयमा आर्मीका कप्तान भरत खवासले चौथो गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा आर्मीका सन्तोष तामाङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...