इटहरी गोल्डकप : थ्रीस्टार विरुद्ध आर्मीको बदला

सुनसरी (खेलदैनिक) । दावेदार त्रिभुवन आर्मी क्लब जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार इटहरी रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनलमा आर्मीले रुस्लान थ्रीस्टार क्लबलाई पेनाल्टी शुटआउटमा ३–१ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

पेनाल्टी शुटआउटमा आर्मीका लागि भरत खवास, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे भने दिप लामा र पदम तामाङले गोल गर्न चुकेका थिए । त्यस्तै थ्रीस्टारका लागि बिक्रम लामाले मात्र गोल गर्न सफल भए भने रजिन धिमाल, रुपेश केसी र बुद्ध चेम्जोङले पेनाल्टी प्रहारलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलमा आर्मीका गोलरक्षक विकेश कुथु म्यान अफ द म्याच समेत घोषित भए । यो जितसँगै आर्मीले सिमरा गोल्डकपको फाइनलमा थ्रीस्टारसँग बेहोरेको हारको बदला समेत लिएको थियो । सिमरा गोल्डकपको फाइनलमा पनि थ्रीस्टारले पेनाल्टी शुटआउटमै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगिता अन्तरगत मंगलबारको अन्तिम क्वाटरफाइनल खेल अर्को विभागीय टोली नेपाल पुलिस क्लब र सिएफसी, भुटानबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...