
फर्साटिकर (खेलदैनिक) । उपाधिको बलियो प्रत्याशी मानिएको सुनौलो संगम युवा क्लब, देवीनगरलाई हराउँदै विश्वशान्ति युवा क्लब, सालझण्डी जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फर्साटिकर उच्च माविको खेलमैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा विश्वशान्तिले सुनौलो संगमलाई टाईब्रेकरमा ३–२ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
खेलमा विश्वशान्तिका लागि उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक अजित प्रजापति म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल वाणगंगा वेलफेयर सोसाईटी, कपिलवस्तु र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।
फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।
त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।