मनाङको जितमा कमल श्रेष्ठ निर्णायक

सुनसरी (खेलदैनिक) । दावेदार मानिएको मनाङ मस्र्याङ्दी क्लब जारी मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनसरी स्थित इटहरी रंगशालामा आइतबार सम्पन्न खेलमा लिग च्याम्पियन मनाङले आयोजक राष्ट्रिय जागृति क्लबको चुनौति २–१ ले पन्छाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलमा गोलको खाता पनि मनाङले खोलेको थियो । पहिलो हाफतर्फ ३४ औं मिनटमा सुजल श्रेष्ठको गोलबाट अग्रता लिएको मनाङले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । उता आयोजकका लागि ६३ औं मिनटमा उमेश राईले गोल गर्दै खेललाई बराबरी ल्याए ।

तर खेलसकिन १५ मिनट बाँकी छँदा खेलको ७५ औं मिनटमा कमल श्रेष्ठले मनाङका लागि निर्णायक गोल गर्दै टोलीलाई सेमिफाइनलसम्म पुराए । खेलको म्यान अफ द म्याच पनि मनाङका निर्णायक गोलकर्ता कमल श्रेष्ठ नै घोषित भए ।

मनाङले सेमिफाइनलमा अब नेपाल पुलिस क्लब र सिएफसी, भुटानबीचको बिजेतासँग खेल्नेछ । प्रतियोगिता अन्तरगत सोमबारको तेस्रो क्वाटरफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजकले जनाएको छ ।

राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १६ लाख हात पार्नेछ भने उपविजेताले ८ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि मा १९ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...