रुपन्देही : सिद्धार्थ एफसी सेमिफाइनलमा

फर्साटिकर (खेलदैनिक) । सिद्धार्थ एफसी, सैनामैना जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनलमा सिद्धार्थले चाँदनी युवा क्लबलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गर्न सफल भयो । सिद्धार्थको जितमा नवराज गुरुङ र टंक गुरुङले गोल गरे । उता पराजित चाँदनीका लागि बिमल श्रीस मगरले एक मात्र गोल गरे ।

शनिबारको खेलमा पराजित चाँदनीका यमन जिएम म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत आइतबारको दोस्रो क्वाटरफाइनल खेल विश्व शान्ति युवा क्लब, सालझण्डी र सुनौलो संगम युवा क्लब, देवीनगर बीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...