आहा रारा गोल्डकपको पुरस्कार रकममा वृद्धि

पोखरा (खेलदैनिक) । सहारा क्लब पोखराले १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरेको छ । यसपटक प्रतियोगिता विजेताले यसपालि ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आयोजक क्लबले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा क्लब अध्यक्ष केशवबहादुर थापाले मोफसलको सबैभन्दा चर्चित सो फुटबल प्रतियोगितालाई अझ महत्व दिन पुरस्कार राशि वृद्धि गर्दैआएको जानकारी दिए । स्मरणीय छ, गत संस्करणमा विजेताले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार पाएका थिए ।

निर्माणाधीन पोखरा रंगशालामा अस्थायी प्यारापिट बनाएरै भए पनि प्रतियोगितालाई निरन्तरता दिँदै क्लबले विगतको साख जोगाइ राख्ने पक्षमा छ । रंगशाला बाहेक अर्को विकल्प आफूहरुले नसोचेको क्लब अध्यक्ष थापाले बताए ।

यहि आउँदो फागुन ९ देखि १८ सम्म हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय, विदेशी र आयोजक टिमको सहभागिता रहनेछ । साथै बिदेशी टिमको छिनोफानो हुने क्रममा रहेको समेत आयोजकले जनाएको छ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको सो प्रतियोगिताबाट १ करोड ३० लाख आम्दानी हुने र खर्च कटाइ ३२ लाख २ हजार बचत गरिने क्लबको लक्ष्य रहेको महासचिव विश्वराज बरालले बताए ।

यस्तै एक जनालाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानवापत ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । सर्वाधिक गोलकर्ता, फेयर प्ले पुरस्कार सहित विधागत पुरस्कार समेत प्रदान गरिनेछ । प्रतियोगिताको ट्रफी, मेडल, म्यान अफ दी म्याचको पुरस्कार प्रायोजन सहारा यूकेले गरेको छ ।

सो ट्रफी सहारा युके महासचिव धनु थकालीले प्रतियोगिता मूलआयोजक समिति संयोजक एवं क्लब अध्यक्ष केशवबहादुर थापालाई हस्तान्तरण गरे ।

मोफसलको प्रतिष्ठित सहारा क्लब पोखराले पोखरा १७ दोबिल्लामा सहारा एकेडेमी संचालन गरी विपन्न तथा कठिन परिस्थितिका २८ जना बालकलाई फुटबल सिकाउँदै आवासीय सुविधा दिएको छ । प्रतियोगिताबाट बचत रकम सोही एकेडेमीमा सदुपयोग गर्दैआएको क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...