आयोजक एक्सेल्सियरको दोहोरो जित

एक्सेल्सियर कपको उद्घाटन गर्ने क्रममा फुटबल निर्णायकलाई बल हस्तान्तरण गरिदै ।

काठमाडौं (खेलदैनिक) । आयोजक द एक्सेल्सियर स्कुलले सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा बिहीबार दोहोरो जित हात पारेको छ ।

स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियर ‘ए’ ले ग्यालेक्सीलाई २–० गोलले पराजित गर्यो । एक्सेल्सियर ‘ए’ का धीरज जोशीले दुवै गोल गरे । त्यस्तै एक्सेल्सियर ‘बी’ ले एनआरएसएचएसलाई ३–१ गोलले हरायो ।

सिनियर ब्वाइजमै एलआरआई त्रिनेत्रले १–१ गोलको बराबरी खेल भने स्राइन मोडेलले राजन मेमोरियल स्कुललाई ५–२ गोलले पन्छायो ।

जुनियर ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले ग्यालेक्सीलाई १–० तथा त्रिनेत्रले आर्या एकेडेमीलाई ३–२ गोलले निराश पारे । दुई खेल खेलेको आर्याले ओराकल रेसंग भने गोलरहित बराबरी खेल्यो ।

एक्सेल्सियर कपको उद्घाटन गर्ने क्रममा बास्केटबल निर्णायकलाई बल हस्तान्तरण गरिदै ।

सिनियर ब्वाइज बास्केटबलमा एलआरआईले रेडिअन्टलाई ४६–४४ ले पराजित गर्यो । जुनियर ब्वाइज बास्केटबलमा रेडिअन्टले बिग बुद्धलाई ३२–११, महामञ्जुश्रीले न्यु अरुणोदयलाई २७–१३, एभीएमले एलिट को–एडलाई १२–४ र मोक्सदाले रुपिजलाई २५–२४ ले पाखा लगाए ।

सिनियर गल्र्समा एलआरआईले स्किब्सलाई २२–१६ तथा मोक्सदाले रुपिजलाई १४–१२ ले पराजित गरे । प्रतियोगिताको एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे ।

फुटबलको सिनियर र जुनियर दुवैमा समान १६–१६ टिम सहभागी छन् । बास्केटबलतर्फ सिनियर ब्वाइज र गल्र्समा समान १२–१२ तथा जुनियर ब्वाइजमा १३ टिमले भाग लिएका छन् । एक्सेल्सियर कप माघ १७ गते सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...