फर्साटिकर कप : वाणगंगासँग भैरव पराजित

फर्साटिकर (खेलदैनिक) । वाणगंगा वेलफेयर सोसाईटी, कपिलवस्तु जारी छैठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फर्साटिकर उच्च माविको खेलमैदानमा बिहीबार भएको खेलमा वाणगंगाले भैरव एफसी, नवलपरासीलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । वाणगंगाको जितमा अफ्रिकी खेलाडी मन्साले एक मात्र निर्णायक गोल गरे ।

बिहीबारको खेलको म्यान अफ द म्याच भने पराजित भैरवका सुदान्स चौधरी घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको खेल आयोजक फर्साटिकर युवा क्लब र सिद्धार्थ क्लब, चपरहट्टी बीच हुने खेल संयोजक अर्जुन थापाले बताए ।

फर्साटिकर युवा क्लब, सौ.फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार ५ सय प्राप्त गर्नेछ ।

त्यस्तै दुई सेमिफाइनलिस्ट टोलीले जनही २१–२१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगिताको फाइनल खेल भने माघ १९ गते शनिबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...