सिमरा गोल्डकप : कप्तान खवासको निर्णायक गोलसँगै आर्मी फाइनलमा

बारा (खेलदैनिक) । उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लब रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले आयोजक नव जनजागृति युवा क्लब, सिमरालाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । आर्मीको जितमा खेलको ५० औं मिनटमा कप्तान भरत खवासले एक मात्र निर्णायक गोल गरे ।

खेलमा आर्मीका बिमल पाण्डे म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बिहीबारको दोस्रो सेमिफाइनल खेल रुस्लान थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लबबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...