गोलनेपाल फाउण्डेशनद्वारा दाङको स्कुललाई सहयोग

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलमा सक्रिय रहेर आफ्नो छुट्टै पहिचान बनाएको गोलनेपाल फाउण्डेशनले एफसी रिले र एनपिओ रिले वल्र्डको सहकार्यमा दाङको एक विद्यालयलाई खेलकुद सामाग्री सहयोग गरेको छ ।

दाङको तुल्सीपुरमा रहेको कालाखोला माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई फाउण्डेशनले १५ थान फुटबल लगायतको खेलकुद सामाग्री उपलब्ध गराएको हो । गोलनेपालका अनुसार उक्त विद्यालयमा छात्र तथा छात्राहरु गरी कुल ५० विद्यार्थीहरुले सिमित श्रोत र साधनका बीच नियमित फुटबल अभ्यास गरिरहेका छन् ।

गोलनेपालले टिच फर नेपालसँग मिलेर उक्त विद्यालयमा सो खेल सामाग्रीहरु एक कार्यक्रमका बीच वितरण गरेको हो । साथै गोलनेपाल फाउण्डेशनका अध्यक्ष विक्रम थापाले पनि यस अभियानमा सहभागी सहयोगीदाताहरु सबैमा धन्यवाद दिए ।

अध्यक्ष थापा भन्छन्, “यो अभियानमा सहयोग गर्नुहुने एफसी रिले र एनपिओ रिले वल्र्डलाई धन्यवाद दिन चाहन्छौं । हामीले प्रत्येक महिना युथ फुटबल, महिला फुटबल, एकेडेमीहरु, विभिन्न जिल्ला फुटबल संघ र स्थानीय रेफ्रीहरुलाई सहयोग गर्दै आईरहेका छौं । नेपाली फुटबलको विकासका लागि हामीले यो अभियानलाई निरन्तरता दिईरहेका छौं । यो अभियानबाट हामीले अझ राम्रो गर्ने विश्वास समेत लिएका छौं ।”

त्यस्तै एनपिओ रिले वल्र्डका अध्यक्ष आया मियोशी किजाकीले पनि यो अभियानमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । साथै त्यसका लागि गोलनेपाल फाउण्डेशनलाई विशेष धन्यवाद समेत दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...