संकटाको जर्सीमा देखिएका निराजन भन्छन् “व्यवसायीक खेलाडी हुँ, अरुको बारेमा पनि सोच्नुपर्यो”

काठमाडौं (खेलदैनिक) । केही दिन अघि मात्र रुस्लान थ्रीस्टार क्लबबाट अलग भएको घोषणा गरेका राष्ट्रिय फुटबलर निराजन खड्का बारामा जारी दशौं सिमरा गोल्डकपमा सिएमजी संकटा क्लबको जर्सीमा देखिए ।

रमाइलो कुरा त थ्रीस्टार छोडेका निराजन मंगलबार त्यहि थ्रीस्टार विरुद्ध उत्रिए । यद्यपि त्यो खेलमा संकटा २–० ले पराजित हुन पुग्यो । सिमरामा संकटाबाट खेले तापनि निराजनले अहिले नै आफ्नो स्थायी क्लब भने रोजेका छैनन् ।

केही बर्ष अघि घरेलु लिग शुन्य हुँदा संकटाबाटै खेलेर अधिकांश मोफसलको उपाधिहरु समेत जितेका निराजन भन्छन्, “अहिलेका लागि मात्र संकटालाई रोजेको हो । आगामी दिनहरुमा स्थायी रुपमै कुन क्लबबाट खेल्ने हो, त्यसबारे पछि निर्णय लिनेछु ।”

खेलदैनिकसँगको कुराकानीका क्रममा खड्कालाई ‘थ्रीस्टार विरुद्ध खेल्दा कुनै फरक महशुस भयो कि ?’ भन्ने प्रश्न गर्दा उनी अगाडी भन्छन्, “त्यस्तो केही भएन, किनकी म एक व्यवसायीक खेलाडी हुँ । तर लामो समयपछि आफ्नै पूर्व क्लब विरुद्ध खेल्दा केही नमज्जा लाग्यो । तर यो नै जिन्दगी हो भन्ने मैले बुझेको छु ।”

कुराकानीका क्रममा उनले थ्रीस्टार छोड्नुको कारण भने खुलाउन खोजेनन् । निराजन भन्छन्, “केही व्यक्तिगत कुराहरु छन्, जुन अलि भन्न मिल्दैन । सबैको लागि पनि सोच्नुपर्यो ।”

अन्य खेलाडीहरु जस्तै विदेशीने मनसायमा पो हो कि भनेर जिज्ञासा राख्दा निराजनले आफूले अहिले नै त्यसबारे नसोंचेको बताउँछन् । ”स्थायी रुपमा अब नयाँ क्लबमा निराजनलाई कहिले देखिन पाइएला त ?’ भन्ने प्रश्न गर्दा उनले सहज जवाफ दिए, “हजुर अब छिटै ।”


प्रतिक्रिया दिनुहोस

Loading...