सिमरा गोल्डकप : विभागीय भिडन्तमा आर्मीलाई सफलता

बारा (खेलदैनिक) । दुईपटक पछि परेको स्थिति उल्टाउँदै त्रिभुवन आर्मी क्लब रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रंगशालामा आइतबार सम्पन्न खेलमा आर्मीले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ४–२ ले हरायो । यद्यपि खेलमा शुरुवाती अग्रता भने एपिएफले लिएको थियो । खेलको ३३ औं मिनटमा एपिएफका लागि राजन गुरुङले गोल गरे ।

तर आर्मीका लागि ४३ औं मिनटमा टंक बस्नेतले बराबरी गोल फर्काए । यद्यपि आर्मीको त्यो बराबरी खुशी पनि धेरैबेर रहन सकेन । उता ४७ औं मिनटमा एपिएफका लागि आशिष लामाले गोल गर्दै टोलीलाई दोस्रोपटक अग्रता दिलाए ।

तर दोस्रो हाफको अन्तिमतिर उत्कृष्ट पूनरागमन गरेको आर्मीका लागि ७६ औं मिनटमा दिपक गुरुङले दोस्रोपटक बराबरी गोल फर्काए भने ८६ औं मिनटमा सुदिल राईले तेस्रो गोल गरे । त्यस्तै इन्जुरी समयमा टंक बस्नेतले नै व्यक्तिगत दोस्रो तथा आर्मीका लागि चौथो गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे ।

खेलमा आर्मीका दिपक गुरुङ म्यान अफ द म्याच घोषित भए । आर्मीले सेमिफाइनलमा अब आयोजक नव जनजागृति युवा क्लब, सिमराको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत सोमबारको खेल हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...