सिमरा गोल्डकप : साँघुरो जितका साथ एपिएफ क्वाटरफाइनलमा

बारा (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ क्लब रुस्लान दशौं सिमरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सिमरा रंगशालामा सम्पन्न खेलमा एपिएफले बिशाल मेमोरियल फाउण्डेशनलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । एपिएफको जितमा म्यान अफ द म्याच समेत घोषित आशिष लामाले पहिलो हाफको ३६ औं मिनटमा एक मात्र निर्णायक गोल गरे ।

एपिएफले क्वाटरफाइनलमा अब दावेदार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । प्रतियोगिता अन्तरगत शनिबारको खेल सरस्वती युथ क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल माघ १२ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...