बिशाल गोल्डकप : झापाको पोष्टमा आर्मीको ६ गोल

पर्सा (खेलदैनिक) । झापा विरुद्ध आधा दर्जन गोल गर्दै त्रिभुवन आर्मी क्लब दोसे विशाल मेमोरियल गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नारायणी रंगशालामा बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा आर्मीले झापालाई ६–१ को फराकिलो अन्तरले हरायो । खेल शुरु भएको दोस्रो मिनटमै आर्मीका लागि टेक बुढाथोकीले पहिलो गोल गरे । त्यस्तै पहिलो हाफकै १४ र २४ औं मिनटमा सन्तोष तामाङले लगातार दुई गोल गर्दै आर्मीको अग्रता तेब्बर पारे ।

https://twitter.com/Goal_Nepal/status/1085873796655939587

आर्मी सामू निरीह देखिएको झापाका लक्ष्मण बेघाले ७० औं मिनटमा आत्मघाती गोल गरे भने लगतै ७४ औं मिनटमा टेक बुढाथोकीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरे । उता ७९ औं मिनटमा झापाका लागि आशिष चापागाईंले एक गोल फर्काए तापनि त्यो गोलको खुशी पनि धेरैबेर टिकेन ।

खेलको अन्तिमतिर ८८ औं मिनटमा विवेक बस्नेतले छैठौं गोल गर्दै आर्मीको शानदार जित पक्का गरे । खेलमा आर्मीका सन्तोष तामाङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत अब आर्मीले फाइनलमा उपाधिका लागि माघ ५ गते शनिबार हिमालयन शेर्पा क्लबको सामना गर्नेछ ।

बिशाल मेमोरियल फाउण्डेशन, बिरगंज, पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,५५,५५५ रुपैया हात पार्नेछ भने उपविजेताले २,७७,७७७ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...