बागमती गोल्डकप शुरु, भरतपुरको बिजयी शुरुवात

फापरबारी (खेलदैनिक) । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा बुधबारबाट राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सुरु भएकोछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक खेलुकद विकास समिति बागमतीको चुनौती टाइब्रेकरमा ५–३ गोलअन्तरले पन्छाउँदै बीएफसी भरतपुर चितवन टोली विजयी भएको छ । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेलको नतिजाका लागि सिधै टाइब्रेकरको सहारा लिइएको थियो ।

टाइब्रेकरमा विजयी टोलीकोतर्फबाट विनोद तामाङ, विवेक चौधरी, रोशन मगर, सुनिल श्रेष्ठ र सागर चौधरीले गोल गरेका थिए । पराजित आयोजकको तर्फबाट उमेश थापा, रञ्जित आले, जनक कार्कीले गोल गरेका थिए । त्यस्तै आयोजकका उमेश लोप्चनको प्रहार बाहिरिएको थियो ।

त्यसअघि नियमित समयतर्फ विजयी टोली भरतपुरका लागि ३२ औं मिनेटमा सागर चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए । यद्यपि आयोजकका लागि दिपेश गुरुङले ६० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलमा भरतपुरका सागर चौधरी म्यान अफ दी म्याच घोषित भए ।

खेलकुद विकास समिति बागमतीको अध्यक्ष अरुण बलका अनुसार प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरीको (एपीएफ), सरस्वती युवा क्लब, आयोजक, मध्यपुर युथ ठिमी, हेटौंडा, वीरगञ्ज, सर्लाही, सिमरासहित विभिन्न मोफसलका चर्चित दश क्लबहरु सहभागी छन् । पुस ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद तीनलाख रुपियाँ र उपविजेताले नगद दुईलाख रुपियाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...