रुस्लान दशौं सिमरा गोल्डकपको तयारी पूरा

सिमरा (खेलदैनिक) । नव जनजागृति युवा क्लब, सिमराको आयोजनामा बिहीबारदेखि शुरु हुन गईरहेको रुस्लान दशौं सिमरा गोल्डकपको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजक क्लबले बुधवार सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्लब र मकवानपुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात ए डिभिजन र तीन मोफसलका गरी कुल १० टिमहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा ए डिभिजनतर्फ साविक बिजेता त्रिभुवन आर्मी क्लबसहित रुस्लान थ्रिस्टार क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब, सरस्वती युथ क्लबकोसहभागिता रहनेछ । त्यसैगरी आयोजक जनजागृतिसहित मोफलसलको बिशाल मेमोरियल फाउण्डेशन र मकवानपुर ११ ले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको बिजेताले उपाधि सहित ६ लाख र उपबिजेताले तीन लाख प्राप्त गर्नेछन् । पुरस्कार राशीमा आयोजकले यस वर्ष ५० हजार बृद्धि गरेको छ । अघिल्लो वर्ष बिजेताले पाँच लाख ५१ हजार र उपबिजेताले दुई लाख ५१ हजार प्राप्त गरेका थिए ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई यस वर्ष पनि मोटरसाईकल वा स्कुटर प्रदान गरिने भएको छ । प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिने विधागत पुरस्कार राशीमा पनि यस वर्ष पाँच हजार थप गरिएको छ ।

प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले १० हजार प्राप्त गर्ने आयोजक क्लबका महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए ।

आयोजकले यस वर्ष खेल उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडी मध्ये एकजनालाई उदयीमान खेलाडी घोषणा गर्दै १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ । प्रतियोगितामा सहभागी टिममध्ये १६ वर्षसम्मका एक खेलाडीको हौसला बढाउन उदयीमान खेलाडी चयन गर्न लागिएको महासचिव ठकुरीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...