खप्तड गोल्डकप : संकटा अन्तिम चारमा

धनगढी (खेलदैनिक) । सिएमजी संकटा क्लब धनगढीमा जारी नेपाल आइस तेस्रो सुदुरपश्चिम खप्तड गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा संकटाले डल्फिनास टिम, क्यामरुनलाई १–० ले हरायो । संकटाको जितमा अफ्रिकी खेलाडी म्याक्सवेलले एक मात्र निर्णायक गोल गरे । खेलमा संकटाका कप्तान रवि सिलवाल म्यान अफ द म्याच घोषित भए ।

मंगलबारको नतिजासँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब संकटाले सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । त्यस्तै प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र रुस्लान थ्रीस्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।

सुदुरपश्चिम ११ स्पोर्टस् क्लब, धनगढीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...