आर्मीका प्रशिक्षक देउजा भन्छन्, “झापालाई हराउँदै उपाधि जित्नेछौं”

पाँचथर (खेलदैनिक) । त्रिभुवन आर्मी क्लबका प्रशिक्षक गंगाराम देउजाले आफ्नो टिमको शक्ति र टिम वर्कका कारण रुस्लान दशौं फाल्गुनन्द गोल्डकपको फाइनलमा झापालाई हराउँदै उपाधि जित्ने बताएका छन् ।

दोस्रो रोजाईको टोली लिएर उत्रिने आर्मीले प्रतियोगिताको फाइनलमा सोमबार उत्कृष्ट लयमा देखिएको झापा–११ को सामना गर्दैछ ।

फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउजाले भने, “झापा उत्कृष्ट टोली हो र हामीले फरक योजनाका साथ उनीहरुको सामना गर्नेछौं । यो निकै रोमाञ्चक भिडन्त हुनेछ र मलाई विश्वास छ दर्शकहरुले यसको पूर्ण आनन्द लिनेछन् ।”

साथै प्रशिक्षक देउजाले आफ्नो टोलीमा युवा र अनुभवी टोलीहरुको राम्रो सम्मिश्रण रहेको समेत बताए । उनले गोलरक्षकदेखि लिएर फरवार्ड लाईनसम्म राम्रो तालमेल मिलेको प्रतिक्रिया समेत दिए ।

उनी अगाडी भन्छन्, “हामी फाइनल भिडन्तका लागि पूर्ण रुपमा तयार छौं । सम्भवत हाम्रो टिमवर्क र बलियो स्टामिनाका कारण हामीले उपाधि पनि जित्नेछौं ।”

उता आर्मीका कप्तान युद्ध शाहीले पनि आफूहरु फिदिम उपाधि जित्नका लागि आएको बताए । शाही भन्छन्, “हामी यहाँ उपाधि जित्नका लागि आएका हौं र हामी त्यसको लागी आफ्नो तर्फबाट सक्दो गर्नेछौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...