फाल्गुनन्द गोल्डकप : आर्मी फाइनलमा, उपाधिका लागि झापासँग भिड्ने

पाँचथर (खेलदैनिक) । रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र झापा–११ भिड्ने भएका छन् । शनिबार सम्पन्न दोस्रा सेमिफाइनलमा कडा प्रतिस्पर्धाका बीच आर्मीले रोयल एफसी, दार्जिलिङलाई २–१ ले हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो ।

फिदिम माविको स्थानीय खेलमैदानमा शनिबार भएको खेलको १६ औं मिनटमै आर्मीले गोलको खाता खोलेको थियो । तर आर्मीले त्यो गोलको अग्रता धेरैबेर जोगाउन सकेन । उता २१ औं मिनटमै सिद्धान्त क्षेत्रीले रोयलका लागि बराबरी गोल फर्काए ।

खेल अतिरिक्त समयतर्फ लम्किरहेको बेला अन्तिमतिर इन्जुरी समयमा एरिक बिष्टले आर्मीका लागि निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुराउन निर्णायक भूमिका खेले । खेलको म्यान अफ द म्याच पनि एरिक बिष्ट नै घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल पुष ३० गते सोमबार आर्मी र झापाबीच हुनेछ । झापाले शुक्रबार मात्र पहिलो सेमिफाइनलमा सरस्वती युथ क्लबलाई हराउँदै फाइनल स्थान सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...