धरान एफसीलाई बुधबारे गोल्डकपको उपाधि

मोरङ (खेलदैनिक) । प्रथम बुधबारे गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान फुटबल क्लब, सुनसरीले जितेको छ । मंगलबार स्थानीय बुधबारे खेल मैदानमा सम्पन्न फाइनलमा डाँगिहाट फुटबल क्लब, मोरङलाई २–१ ले हराउँदै धरानले उपाधिमाथि कब्जा जमाएको हो ।

धरानको जितमा बिट्टु तामाङ र मिलन राईले गोल गरे । उता पराजित डाँगीहाटका लागि निरज बस्नेतले एक मात्र सान्त्वना गोल फर्काए । फाइनल खेलको म्यान अफ द म्याच धरानका मिलन राई घोषित भए ।

विजेता बनेको धरानले उपाधि सहित नगद १ लाख १ हजार हात पारेको छ भने उपविजेता डाँगीहाटले ५१ हजारमा चित्त बुझाएको छ । त्यसैगरी विधागत उत्कृष्टतर्फ गोलकिपरमा धरानका प्रविन लिम्बू, अनुशासित खेलाडीमा धरानकै वर्तमान राई र उच्च गोलकर्ता पनि धरानकै मिलन राई घोषित भए ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी डाँगीहाटका अरुण लिम्बू घोषित हँदा प्रतियोगिताको अनुशासित टोली धरान फुटबल क्लब घोषित भयो । एकता स्पोर्ट्स क्लब, लेटाङ २ को आयोजनामा पुष १७ गतेबाट शुरु भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी कुल ८ टिमको सहभागीता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...