
काठमाडौं (खेलदैनिक) । यस बर्षको शहिद स्मारक ए डिभिजन लिगमा घरेलु फुटबलका दुई परिचित टोली रुस्लान थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले सुखद समापन गरेका छन् ।
आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै अंकतालिकाको तेस्रो स्थानमा रहेर लिगको समापन गरेको छ । थ्रीस्टारको जितमा २८ औं मिनटमा बुद्ध चेम्जोङले पहिलो गोल गरे भने ८९ औं मिनटमा सुनिल बलले दोस्रो गोल गरे ।
यो जितपछि १३ खेलबाट २६ अंक जोडेको थ्रीस्टार तेस्रो स्थानमा रहँदै लिगको समापन गर्न सफल भयो । त्यस्तै पराजित हिमालयन शेर्पा भने १७ अंकका साथ छैठौं स्थानमा रह्यो ।
त्यस्तै आइतबार नै हलचोकस्थित एपिएफ स्टेडियममा भएको अर्को खेलमा आर्मीले मच्छिन्द्र एफसीलाई ३–० ले हरायो । आर्मीको जितमा खेलको २८ औं मिनटमा टंक बस्नेतले पहिलो गरे भने ६२ र ७३ औं मिनटमा भरत खवासले दुई गोल गरे ।
यो जितपछि १३ खेलबाट २५ अंक जोडेको आर्मी अंकतालिकाको चौथो स्थानमा रहेर लिगको समापन गरेको छ भने ७ अंक जोडेको मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा छ ।