
पाँचथर (खेलदैनिक) । शनिबारदेखि शुरु रुस्लान दशौं फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगितामा झापा–११ ले बिजयी शुरुवात गरेको छ ।
फिदिम माविको स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा झापाले कर्ण सिंह सोनाम मेमोरियल, ताप्लेजुङलाई ३–१ ले हराउँदै बिजयी शुरुवात गरेको हो ।
यद्यपि खेलमा शुरुवाती अग्रता भने कर्ण सिंह सोनाम मेमोरियलले लिएको थियो । उसका लागि खेलको सातौं मिनटमा अनुप सेन्दाङले पहिलो गोल गरे । तर त्यो गोलको अग्रता कर्ण सिंहले धेरैबेर जोगाउन सकेन । उता १२ औं मिनटमा कर्ण लिम्बुले झापाका लागि बराबरी गोल फर्काए ।
त्यस्तै ४४ औं मिनटमा राजकुमार कान्दङवाले झापाका लागि दोस्रो गोल गरे भने ६६ औं मिनटमा देवेन्द्र तामाङले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलमा झापाका देवेन्द्र तामाङ म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।
यो जितसँगै झापा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत पुष २२ गते आइतबारको खेल आयोजक फिदिम स्र्पोटिङ क्लब र मोरङ–११ बीच हुनेछ ।