प्रथम बुधबारे गोल्डकप : बेलबारी एफसी सेमिफाइनलमा

लेटाङ (खेलदैनिक) । एकता स्पोर्ट्स क्लब, लेटाङ २ को आयोजनामा मंगलबारदेखि शुरु प्रथम बुधबारे गोल्डकपको उदघाटन खेलमा बेलबारी एफसीले बिजयी शुरुवात गरेको छ । मंगलबार भएको खेलमा बेलबारीले दमक एफसीलाई २–० ले हराउँदै सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

लेटाङ २ बुधबारे, मोरङ स्थित स्थानीय खेलमैदानमा शुरु खेलमा बेलबारीको जितमा भुवन बस्नेत र महेन्द्र कार्कीले गोल गरे । खेलमा म्यान अफ द म्याच बेलबारी एफसीका मौसम लिम्बू भए ।

बेलबारीले अब पुस १९ गते डिएफसी डाँगिहाट र विर्तामोड युनाइटेड बीच हुने तेस्रो खेलको विजेतासँग पुस २१ गते सेमिफाइनल खेल्नेछ । प्रतियोगिता अन्तरगत पुष १८ गतेको खेल राष्ट्रिष् जागृति क्लब, इटहरी र मोरङ फुटबल एकेडेमी, उर्लाबारी बीच हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागत उत्कृष्टतर्फ गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

झापा, मोरङ र सुनसरीका गरी कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल यहि पुष २४ गते हुने समेत आयोजकले बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...