एपिएफसँग हार्यो पुलिस, सरस्वतीसँग च्यासल स्तब्ध

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार भएको विभागीय भिडन्तमा सशस्त्र प्रहरीको एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई४–१ ले हराएको छ ।

हल्चोक स्थित घरेलु मैदानमा सम्पन्न खेलमा एपिएफका लागि युजराज खड्काले ४३ औं र ८५ औं मिनटमा गरी दुई गोल गरे । यद्यपि खेलमा एपिएफलका लागि गोलको खाता भने २० औं मिनटमा राजेन्द्र रावलले खोलेका थिए । त्यस्तै थप एक गोल पहिलो हाफ कै २८ औं मिनटमा हरि कार्कीले गरे ।

उता पराजित पुलिसका लागि पहिलो हाफकै इन्जुरी समयमा अजित भण्डारीले एक मात्र सान्त्वना गोल फर्काए । यो जितसँगै १२ खेलबाट २० अंक जोडेको एपिएफ पाँचौं स्थानमा उक्लिएको छ । उता पराजित पुलिस भने १८ अंकका साथ छैठौं स्थानमा झरेको छ ।

सरस्वतीसँग च्यासल स्तब्ध

त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै सरस्वती युथ क्लबले च्यासल युथ क्लबलाई २–१ ले हराएको छ ।

खेलको १४ औं मिनटमा सजिन थापा मगरको गोलबाट शुरुवाती अग्रता बनाएको च्यासलले त्यसलाई जोगाई राख्न सकेन । उता खेलको अन्तिमतिर नाटकीय रुपमा खेलमा फर्किएको सरस्वतीका लागि ८६ औं मिनटमा मनिष थापाले बराबरी गोल फर्काए । त्यस्तै इन्जुरी समयको ९६ औं मिनटमा फ्रान्सिसले निर्णायक गोल गर्दै सरस्वतीलाई रोमाञ्चक जित दिलाए ।


प्रतिक्रिया दिनुहोस

Loading...