अब फ्रेन्चाईज भिडन्त : आगामी बर्षदेखि नेपाल सुपर लिग

काठमाडौं (खेलदैनिक) । नेपाली फुटबलको विकासमा थप योगदान पुर्याउने उद्देश्य अनुरुप अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी बर्षदेखि नेपाल सुपर लिग फ्रेन्चाईज फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

यो प्रतियोगिता सञ्चालनका लागि एन्फाले नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेण्टसँग मंगलबार सम्झौतापत्रमा समेत हस्ताक्षर गरेको छ । फुटबल खेलको दिगो विकास र विस्तार गर्नका लागि उपत्यका बाहिर पनि लिग प्रतियोगिता आयोजना गर्नुपर्छ भन्ने अवधारणा अनुरुप एन्फाले ऐतिहासिक रुपमा प्रदेश स्तरीय सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एन्फाका अनुसार देशमा रहेका सातै प्रदेशहरुमा त्यहाँको कर्पोरेट हाउसहरुको प्रत्यक्ष संलग्नतामा एक उत्कृष्ट प्रदेश टिम बनाउनुपर्नेछ । साथै रोचक कुरा त एन्फाले हाल जारी ए डिभिजन लिगमा सहभागी १४ टोलीहरुमध्येबाट उत्कृष्ट १४० खेलाडीहरुलाई छनौट गरी सात प्रदेशको टिममा बराबर सहभागि गराएर एक उत्कृष्ट टिम बनाउन सहयोग पुर्याउने छ ।

टिमको स्तर थप सुधार्न टोलीमा बिदेशी खेलाडीहरु पनि समावेश गर्न पाइने एन्फाले जनाएको छ । यद्यपि एक टिममा कति विदेशी खेलाडीहरु राख्न पाइने हो, त्यसबारे भने प्रतियोगिताको नियमावली अनुसार तोकिने बताइएको छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा २१ म्याचहरु तथा चार प्लेअफ गरी कुल २५ खेलहरु हुनेछन् ।

यसका साथै नेपाल स्पोर्टस् र इभेन्ट मेनेजमेण्टले एन्फासँगको सहकार्यमा विभिन्न जिल्लाका उत्कृष्ट विद्यालयहरुबाट कुल ११ टोली छनौट गरी विद्यालयस्तरीय लिग आयोजना गर्ने समेत बताइएको छ । विद्यालयस्तरीय लिगमा भने कुल ५५ खेलहरु हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिता आयोजना गर्न र सफलताका साथ सम्पन्न गर्न एन्फाले पूर्ण रुपमा प्राविधिक सहयोग गर्ने समेत एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी ।


प्रतिक्रिया दिनुहोस

Loading...