फ्रेण्डस विरुद्ध बीबीसीको तीन गोल, आर्मी बराबरीमा रोकियो

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ ब्रीगेड ब्वाईज क्लब (बीबीसी) ले सोमबार फ्रेण्डस क्लबमाथि ३–० को उत्कृष्ट जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बीबीसीका लागि तीन गोल अफ्रिकी खेलाडीले गरे । काजिम अडिल्जोकेले बीबीसीका लागि १५ औं र ४६ औं मिनटमा गरी दुई गोल गरे । त्यस्तै थप एक गोल भने अब्दुल करिमले अन्तिमतिर इन्जुरी समयमा गरे ।

जारी लिगमा बीबीसीको यो दोस्रो जित हो । यो जितसँगै १२ खेलबाट ९ अंक जोडेको बीबीसी पुछारबाट चौथो स्थानमा छ । उता पराजित फ्रेण्डस् भने समान अंक भए तापनि बीबीसी भन्दा एक स्थान तल छ ।

त्यस्तै सोमबार नै एपिएफ स्टेडियममा भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । जारी लिगमा आर्मीको यो चौथो बराबरी समेत हो ।

यो नतिजापछि १२ खेलबाट २२ अंक जोडेको आर्मी चौथो स्थानमा छ । उता जावलाखेल भने १२ अंकका साथ नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...