एनआरटी र मच्छिन्द्रले खेले ५–५ गोलको बराबरी

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ सोमबार भएको १२ औं चरणको पहिलो खेलतर्फ मच्छिन्द्र एफसी र न्युरोडटिम (एनआरटी) ले ५–५ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एनआरटीले पटक–पटक पछि परेको स्थिति उल्टाउँदै खेलमा शानदार पूनार्गमन गर्यो । खेल शुरु भएको तेस्रो मिनटमै मच्छिन्द्रका लागि भेसिडया डायमन्डेले पहिलो गोल गरे । तर आठौं मिनटमा साहिदले आत्मघाती गोल गरेपछि न्युरोड खेलमा फर्किएको थियो । यद्यपि लगतै दशौं मिनटमा बिशाल राई ए ले मच्छिन्द्रको अग्रता दोब्बर पारे ।

https://www.facebook.com/goalnepalofficial/?eid=ARBlneScp6lLXp3VXdL2JJ9x9wY6I639MRkq1qy-pUTaZj–tPVxWpSOWoLQ2JsP1DdFoUPmKwAN8Z_m

त्यस्तै २७ औं मिनटमा मच्छिन्द्रका लागि खामिर गिल्सन कान्दङवाले तेस्रो गोल गरे भने त्यसको दुई मिनट बित्न नपाउँदै २९ औं मिनटमा अनिल गुरुङले चौथो गोल गर्दै टोलीलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाए ।

तर खेलमा उत्कृष्ट पूनार्गमन गरेको एनआरटीका लागि एक मिनटको अन्तरालमा अशोक थापाले लगातार ३३ औं र ३४ औं मिनटमा दुई गोल फर्काए भने पहिलो हाफ कै इन्जुरी समयमा सुशिल लामाले पेनाल्टीबाट एनआरटीका लागि चौथो गोल गर्दै पहिलो हाफसम्म खेल ४–४ गोलको रोमाञ्चक बराबरीमा ल्याए ।

त्यसैगरी दोस्रो हाफको ६४ औं मिनटमा फेरि बिशाल राई ए ले व्यक्तिगत दोस्रो तथा मच्छिन्द्रका लागि पाँचौं गोल गरे । तर मच्छिन्द्रले त्यो अग्रता पनि जोगाउन सकेन । उता खेलको अन्तिमतिर ८६ औं मिनटमा डिडियर इस्माइलले एनआरटीका लागि पाँचौं गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

योे बराबरीपछि १२ खेलबाट ७ अंक जोडेको मच्छिन्द्र पुछारबाट तेस्रो स्थानमा छ भने ६ अंक जोडेको एनआरटी पुछारमै यथावत छ ।


प्रतिक्रिया दिनुहोस

Loading...