आज लिग उपाधिको संघारमा छ मनाङ

काठमाडौं (खेलदैनिक) । जारी पल्सर शहिद स्मारक ए डिभिजन लिगमा अपराजित रहँदै शिर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लब आज लिग उपाधिको संघारमा छ ।

लिगतर्फ आज मनाङले दोस्रो स्थानमा रहेको सिएमजी संकटा क्लबसँग खेल्दैछ । एन्फा कम्प्लेक्समा दिनको २:३० बजे शुरु हुने आजको खेलमा मनाङले जित हात पारे उसले उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनेछ ।

लिगमा १० खेलबाट ३० अंक जोडेको मनाङ शिर्ष स्थानमा छ भने २५ अंक जोडेको संकटा दोस्रो स्थानमा छ । आजको खेलमा मनाङलाई नै जितको बलियो प्रत्याशी मानिएको छ । यद्यपि यस सिजन उत्कृष्ट लयमा देखिएको संकटाले आफू अनुकुल नतिजा ल्याउन सक्ने पनि धेरैको अनुमान छ ।

बिहीबार नै एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ११ बजे च्यासल युथ क्लबले सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्दैछ ।


प्रतिक्रिया दिनुहोस

Loading...