एन्फा प्रवक्ता राई भन्छन्, “आरोप प्रमाणित गर्नुस् होइन भने माफी माग्नुस्”

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरन राईले एन्फामाथि केही फुटबल संघले लगाएको आर्थिक चलखेलको आरोपप्रति खण्डन गरेका छन् ।

स्मरणीय छ कि बुधबार उपत्यकाका ललितपुर, भक्तपुर, धादिङ र काठमाडौं गरी चार फुटबल संघले पत्रकार सम्मेलनको आयोजना गरी एन्फाको वर्तमान कार्यसमितिले केन्द्रिय निर्वाचनका क्रममा आर्थिक चलखेल गरेको आरोप लगाएका थिए ।

साथै पत्रकार सम्मेलनमा उनीहरुले प्रमाणका रुपमा एक अडियो क्लिप पनि सार्वजनिक गरेका थिए । जसमा वर्तमान एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायत केही पदाधिकारीहरुले रकम वितरण र विभाजन सम्बन्धी छलफल गरिरहेको सुनिएको थियो ।

उता एन्फाका प्रवक्ता राईले भने “यी आरोपहरुलाई आधारहिन बताएका छन् । राई भन्छन्, ती सबै आरोपहरु आधारहीन छन् । यदि साँचो हो भने उनीहरुले प्रमाणित गरेर देखाउनुपर्यो, होइन भने माफी माग्नुपर्यो ।”

त्यस्तै निर्वाचनका क्रममा निर्वाचन कमिटीलाई धम्क्याएको आरोपबारे प्रश्न गर्दा राईले अगाडी भने, “निर्वाचन कमिटीका सदस्यहरुलाई न त हामीले धम्क्याएका छौं न कुनै रकम दिएका छौं । ती सबै आरोपहरु पूर्णरुपमा आधारहीन छन् ।”

राई अगाडी भन्छन्, “ती पदाधिकारीहरुले पाटन उच्च अदालतको निर्णयलाई बारुम्बार चुनौति दिईरहेका छन् । हामी अदालतलाई पैसा दिने हैसियतमा छैनौ. । म पाटन उच्च अदालत समक्ष वहाँहरुलाई अदालतको महत्वलाई सम्मान गर्र्नुपर्ने सुझाव दिन आग्रह गर्दछु ।”

साथै राईले आफ्नो टिमका कुनै सदस्यहरुलाई आर्थिक प्रलोभनको आवश्यकता नरहेको र उनीहरु आफ्नै व्यवसाय र पेशा मै सन्तुष्ट रहेको समेत स्पष्ट पारे ।

आफ्नो कुरालाई थप अगाडी बढाउँदै राईले भने, “चुनाव अभियानका बेला रकम खर्च भएको थियो । यो स्वभाविक हो । चुनावी अभियानमा हामी देशका अधिकांश स्थानमा पुगेका थियौं, त्यतिबेला यातायात खर्च र अन्य कुरामा रकम खर्च भएको थियो । म उनीहरुलाई आरोप प्रमाणित गर्न चुनौति दिन्छु, होइन भने उनीहरुले माफी माग्नुपर्छ ।”

प्रवक्ता राईका अनुसार फुटबलको विकास नचाहेका केही व्यक्तिहरुले ती चार फुटबल संघहरुलाई उक्साएको हुन सक्ने आशंका व्यक्त गरे ।

नेपाली फुटबल साईट गोलनेपालका अनुसार एन्फाले ती चारै फुटबल संघसँग छिटै भेटघाट गरेर एन्फा विरुद्ध जानुको कारणबारे छलफल गर्ने बताइएको छ ।

एन्फामाथि आरोप लगाउने ती चार फुटबल संघका पदाधिकारीहरुले एएफसी र फिफामा पनि उजुरी पठाएको बताएका छन् । यद्यपि त्यहाँबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । प्रवक्ता राई भन्छन्, “यदि एएफसी र फिफाले स्पष्टीकरण चाहन्छन् भने हामी त्यसका लागि आवश्यक स्पष्टीकरण दिन तयार छौं ।”

स्मरणीय छ कि एन्फाको नयाँ नेतृत्व कर्मा छिरिङ शेर्पाको नेतृत्व मै नेपाली फुटबलले केही सकरात्मक अनुभुती गर्ने अवसर पाएको छ । एन्फाको वर्तमान कार्यसमितिले नै पाँच बर्षसम्म रोकिएको ए डिभिजन लिगलाई यसै बर्षदेखि सुचारु गरेको छ ।

वर्तमान नेतृत्वले नै महिला फुटबललाई बढी महत्व दिएको छ भने आफू मातहतको ४५ जिल्ला फुटबल संघमा ग्रासरुट कार्यक्रम पनि शुरु गरेको छ । साथै देशमा १४ थप टेक्निकल सेन्टर निर्माण गर्ने योजनामा छ भने रौतहटमा महिला फुटबल एकेडेमी निर्माण गर्ने घोषणा गरेको छ । त्यसका साथै नेशनल ड्युटीका बेला खेलाडीहरुको पारिश्रमिकमा पनि बृद्धि गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...