विभागीय भिडन्तमा एपिएफसँग आर्मी पराजित

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार भएको विभागीय भिडन्तमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफ क्लबसँग हार बेहोरेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले आर्मीलाई २–१ ले निराश तुल्याएको छ । एपिएफको जितमा दुवै गोल आशिष लामाले गरे । उनले खेलको ५७ र ८६ औं मिनटमा गरी दुई गोल गरे । उता आर्मीका लागि दोस्रो गोल खाएको एक मिनट बित्न नपाउँदै ८७ औं मिनटमा नवयुग श्रेष्ठले एक गोल गरे तापनि त्यो टोलीको हार टार्न प्रर्याप्त बनेन ।

यो हारसँगै आर्मीको उपाधि दौड थप कठिन भईदिएको छ । यो नतिजापश्चात् १० खेलबाट १८ अंक जोडेको आर्मी शिर्ष स्थानमा रहेको मनाङ भन्दा ९ अंकले पछि परेको छ । यद्यपि मनाङले एक खेल कम खेलेको छ र आज नै अर्को खेलमा नेपाल पुलिस क्लबको सामना गर्दैछ ।

उता लिगमा पाँचौं जित हात पारेको एपिएफ भने १६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...