फ्रेण्डससँग शेर्पा स्तब्ध

काठमाडौं (खेलदैनिक) । ए डिभिजन लिगतर्फ शुक्रबार एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा फ्रेण्डस् क्लबले हिमालयन शेर्पा क्लबलाई २–१ ले हराउँदै लिगमा दोस्रो जित दर्ता गरेको छ ।

खेलमा शुरुवाती अग्रता लिएर पनि शेर्पाले त्यसलाई जोगाउन सकेन । खेलको २६ औं मिनटमा गोहा प्याट्रिकको गोलबाट शेर्पाले शुरुवाती अग्रता लिएको थियो । तर शेर्पाले त्यो अग्रतालाई दुई मिनट पनि जोगाउन सकेन ।

उता खेलको २८ औं मिनटमै सन्जोग महर्जनले फ्रेण्डसका लागि बराबरी गोल फर्काए । त्यसपछिको अधिकांश समय दुवैतर्फबाट गोल प्रयास भए तापनि सफल भएन । खेल बराबरीतर्फ लम्किरहेको बेला ८८ औं मिनटमा जीवन गुरुङले फ्रेण्डसका लागि निर्णायक गोल गरे ।

खेलमा फ्रेण्डसका सन्जोग महर्जन म्यान अफ द म्याच घोषित भए । यो जितपश्चात् १० खेलबाट ८ अंक जोडेको फ्रेण्डस अंकतालिकाको ११ औं स्थानमा छ । उता पराजित शेर्पा भने १४ अंकका साथ छैठौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...