दशौं खेलमा मच्छिन्द्रलाई पहिलो जितको स्वाद

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार मच्छिन्द्र एफसीले सरस्वती युथ क्लबलाई हराउँदै आफ्नो जितविहीन खेलको यात्रालाई तोडेको छ । लिगमा पहिलो जित दर्ता गर्ने क्रममा मच्छिन्द्रले सरस्वतीलाई ४–२ ले हरायो ।

एन्फा कम्प्लेक्समा सम्पन्न दशौं चरणको पहिलो खेलतर्फ गोलको अग्रता भने सरस्वतीले लिएको थियो । खेल शुरु भएको चौथो मिनटमै मच्छिन्द्रका संजय राजवाहकले आत्मघाती गोल गरेपछि सरस्वतीले खेलमा अग्रता बनाएको थियो ।

तर १८ औं मिनटमै मच्छिन्द्रका कप्तान बिशाल राई ए ले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि आक्रमक बनेको मच्छिन्द्रका लागि २३ औं मिनटमा भेसडिया डायमोन्डेले दोस्रो गोल गरे भने लगतै २८ औं मिनटमा अनिल गुरुङले टोलीका लागि तेस्रो गोल गरे ।

यद्यपि पहिलो हाफ कै ३९ औं मिनटमा सरस्वतीका लागि फ्रान्सिसले दोस्रो गोल गर्दै टोलीको गोल अन्तरलाई कम बनाएका थिए । पहिलो हाफ मै दुवैतर्फबाट पाँच गोल भएको खेलमा दोस्रो हाफतर्फ पनि गोलको प्रयास दुवैतर्फबाट जारी रह्यो ।

खेलको इन्जुरी समयतर्फ मच्छिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । जसलाई ९१ औं मिनटमा बिकास राईले कुनै गल्ती नगरी गोलमा परिणत गर्न सफल भए । खेलमा मच्छिन्द्रका बिशाल राई म्यान अफ द म्याच घोषित भए ।

जारी लिगमा पहिलो जित हात पारेको मच्छिन्द्रले समग्रमा १० खेलबाट ६ अंक जोड्दै ११ औं स्थानमा उक्लिएको छ । उता १० अंक जोडेको सरस्वती नवौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...