रेफ्रीको कार्ड विरुद्ध आक्रोशित मनाङले एन्फामा दियो उजुरी

काठमाडौं (खेलदैनिक) । बिना कारण आफ्ना खेलाडीलाई रेफ्रीले कार्ड दिएको भन्दै मनाङ मस्र्याङ्दी क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग कमिटी समक्ष असन्तुष्टी पोखेको छ ।

शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार च्यासल युथ क्लब विरुद्ध ३–१ को जित हात पारेको खेलमा मनाङका अफ्रिकी फरवार्ड आफिज ओलावालेलाई फिफा रेफ्री प्रकाशनाथ श्रेष्ठले रातो कार्ड देखाएका थिए । रेफ्रीको यो निर्णयप्रति असन्तुष्टी पोख्दै खेलपश्चातको पत्रकार सम्मेलनमा मनाङका प्रशिक्षक तथा म्यानेजरले एन्फा विरुद्ध आक्रोश पोखे ।

जारी लिगमा नवौं चरणसम्म अपराजित रहेको मनाङ अंकतालिकाको शिर्ष स्थानमा छ । चर्चित नेपाली फुटबल साईट गोलनेपालका अनुसार मनाङलाई लाग्छ लिगको अन्तिम खेलमा आफूलाई लिग उपाधि जित्नबाट बञ्चित गर्न कुनै चलखेल हुन सक्नेमा सशंकित छ ।

मंगलबार च्यासल विरुद्धको खेलपश्चात् आक्रोशित रुपमा पत्रकार सम्मेलनमा प्रस्तुत भएका मनाङका म्यानेजर कुमार भट्टराईले भने, “आफिज ओलावालेले पहेंलो कार्ड पाउने भन्ने कुराको गोप्य सुचना मैले एक प्रहरीबाट थाहा पाएको थिएँ र ओलावालेले नै पहेंलो कार्ड पाए । अब उनले नेपाल पुलिस विरुद्धको महत्वपूर्ण अन्तिम खेलमा खेल्न पाउने छैनन् ।”

उता मनाङका प्रशिक्षक सुमन श्रेष्ठ भन्छन्, “म रेफ्रीको निर्णयप्रति खुशी छैन । किन हो उनीहरु मनाङ विरुद्ध नकरात्मक रुपमा उत्रिने गर्छन् ।”

त्यस्तै च्यासलका प्रशिक्षक राजुकाजी शाक्यले पनि रेफ्रीको निर्णयमा असन्तुष्टी पोखे । शाक्यले भने “हामीले रेफ्री श्रेष्ठ विरुद्ध एन्फामा उजुरी गर्नेछौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...