ए डिभिजन लिगमा मनाङको वर्चश्व कायमै

काठमाडौं (खेलदैनिक) । पल्सर शहिद स्मारक ए डिभिजन लिगमा अपराजित रहेको मनाङ मस्र्याङ्दी क्लबले आफ्नो शतप्रतिशत जितको यात्रालाई नवौं चरणसम्म पनि कायम राखेको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो खेलमा मनाङले च्यासल युथ क्लबलाई ३–१ ले हराउँदै आफ्नो शतप्रतिशत जितको यात्रा र लिगतालिकामा शिर्षतालाई कायम राख्यो ।

खेलमा शुरुवातबाटै आक्रमक बनेको मनाङका लागि १६ औं मिनटमा अडिलेजा सोमिडेले पहिलो गोल गरे । पहिलो हाफसम्म एक गोलको अग्रता बनाएको मनाङले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

खेलको ७० औं मिनटमा आफिज ओलावालेले मनाङका लागि दोस्रो गोल गरे । जारी लिगमा यो ओलावालेको छैठौं गोल समेत हो र उनी थ्रीस्टारका रजिन धिमालसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा छन् ।

त्यस्तै ८६ औं मिनटमा बिमल रानाले मनाङका लागि तेस्रो गोल गरे । उता पराजित च्यासलका लागि ८८ औं मिनटमा देवेन्द्र तामाङले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा मनाङका डिफेन्डर कमल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

यो नतिजापछि ९ खेलबाट २७ अंक जोडेको मनाङ शिर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको संकटा भन्दा ३ अंकले अगाडी छ । उता पराजित च्यासल भने १३ अंकका साथ सातौं स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...