मच्छिन्द्रमाथि एपिएफको उत्कृष्ट जित

काठमाडौ (खेलदैनिक) । शुरुवाती १५ भित्र दुई गोल गर्न सफल भएपछि शहिद स्मारक ए डिभिजन लिगतर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले मंगलबार सिजनको चौथो जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले मच्छिन्द्र एफसीको चुनौति ३–१ ले पन्छाउँदै तीन अंक बटुल्न सफल भएको हो । खेल शुरु भएको तेस्रो मिनटमै आशिष लामाले गोल गरेपछि मच्छिन्द्र शुरुवात मै अतालिन पुगेको थियो । लगतै १२ औं मिनटमा युवराज खड्काले एपिएफका लागि दोस्रो गोल गरे ।

यद्यपि पहिलो हाफ कै ३३ औं मिनटमा मच्छिन्द्रका लागि अलाबा अडिमोलाले एक गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर अन्तिमतिर पाएको फ्रिकिकमा एपिएफका लागि ८८ औं मिनटमा रुप बहादुर लामाले गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरेका थिए ।

यो जितसँगै ९ खेलबाट १३ अंक जोडेको एपिएफ अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ । उता जितविहीन रहेको मच्छिन्द्र ३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...