संखुवासभाको बिजयी शुरुवात

तेह्रथुम (खेलदैनिक) । सोमबारदेखि शुरु प्रथम श्री भगिमन सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगितातर्फ संखुवासभाले बिजयी शुरुवात गरेको छ ।

म्याङलुङ, तेह्रथुम स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै संखुवासभाले घरेलु टोली तेह्रथुमलाई ३–२ ले हरायो ।

संखुवासभाको जितमा जोयल लिम्बुले दुई गोल गरे भने थप एक गोल दिपक चौहानले गरे । उता पराजित आयोजक तेह्रथुमका लागि सन्तोष लिम्बु र बिमल गुरुङले शुरुवाती गोल गरेका थिए । खेलको म्यान अफ द म्याच संखुवासभाका जोयल लिम्बु घोषित भए ।

यो जितसँगै संखुवासभा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत पुस ३ गतेको खेल ताप्लेजुङ र इलामबीच हुने आयोजकले जनाएको छ ।

श्री भगिमन सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १५ हजार प्राप्त गर्नेछ । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पुस ७ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...